Tuesday, July 16, 2013

मैले अज्ञानको माँग गरिन

मैले अज्ञानको माँग गरिन 
तर ज्ञानको माँग गर्दैछु 
दीन दुखीको करुण क्रन्दनमा 
आँशु पिएर मर्दै  वाच्दैछु 
आंग  ढाक्ने टालो नदेख्दा 
विधाताले तीनको  भाग्य नलेख्दा 
धनी गरीवि  विभेदी विखण्डन 
भोक- प्यासका कोर्रा खपेका 
आखीर तीनको
एक मुट्ठी साँसको मूल्य कसले बुझ्ला त?
मैले अज्ञानको माँग गरिन 
तर ज्ञानको माँग गर्दैछु ।।१ .

कसलाई के थाहा कति ठाउमा 
मैले आफ्नो अज्ञानताको परिचय दिए ?
समाजको लान्छन  सहेर नजाने कति ठाउ 
म  मरेर जिए
अज्ञानताको भयङ्कर भूमरीमा 
यतिसारो म कहिल्यै परिन 
अन्तर्निहित आत्म ज्योतिको 
यतिसारो कहिल्यै खोजि गरिन 
 मैले अज्ञानको माँग गरिन 
तर ज्ञानको माँग गर्दैछु ।।२. 

बालक यौवन र वृद्धावस्था 
केहि दशकमा विराम कहानी 
हजार बार जन्मनु ,हजार बार मर्नु  
अज्ञानताको कस्तो मनमानी ?
पूर्व कल्पित {पूर्व जन्मको }केही  ज्ञान शेष  रहेमा 
दुनियाँ सँग ज्ञानाचार गरौला 
 मैले अज्ञानको माँग गरिन 
तर ज्ञानको माँग गर्दैछु ।।३. 

कालो -कुरुप -कर्कश  डाह 
सबै अज्ञानका पर्याय हुन् 
जीवनको नीधि दाउमा राखेर 
कदम-कदममा भ्रष्टाचारको सामना हुनेछ 
झस्किएर रोकिन्छ ,
पथिकको त्यो पुनीत कदम 
सुदूर कुनामा प्रदीप्त आलोक 
त्यहिँ एकोहोरो साहारा हुनेछ 
 मैले अज्ञानको माँग गरिन 
तर ज्ञानको माँग गर्दैछु ।।४. 

पावन कर्तव्यका पुनीत पथलाई 
त्यहि ज्ञानले सिञ्चन गरौला 
कहिले काहिँ  वलिन्ध्र धारा अश्रु बगाई 
प्राणको अर्घ्य  चढाउने गरौला 
परन्तु  आफ्नो ध्येय यात्रामा 
कहिल्यै, काँही झुक्नु नपरोस् 
विद्वत ,ज्ञानीको सोझो सभामा 
पीठ फर्काई लुक्नु नपरोस् 
मैले अज्ञानको माँग गरिन 
तर ज्ञानको माँग गर्दैछु ।।५ .
                           ----आचार्य कुशलकुमार निरौला

No comments:

Post a Comment