Thursday, May 8, 2014


नारी महिमा   - कुशलकुमार निरौला

यि नारी यिनैहुन् परेर भोगेकी  शितोष्ण  वात दुवै 
मुटुको महिमा भिजेर पुछेका झर्रा रसिला खुबै 
झिनो आशलिई  बसेकी रहिछन्  आशु पुछेर रुदै 
कर्तव्य पाएनि नपाई जस चै  हुनु नहुनु हुदै  

नारीको महिमा  जानेनन् ऋषिले  खै के जानु  कसै 
रुपकी  एकता देखिने भएनि कार्यानु भेदी  जसै 
कर्म क्षेत्री  निखारिएकि  यिनमा मन्त्रि  उपमा लिंदै 
सेवा भाव जागेर सदा तिनमा दासीको  संज्ञा  दिंदै 

भान्से लाग्नु परेमा  यिनको मातृवत खुवी है 
दु:खका दिनमा भुलेर ति पीडा यिनले हसाउछिन् है 
धर्मको काममा सधै नै  अगाडी बढे चढेर  गरुन्
गरेको अरुले भूलको क्षमादान  धर्ती शरण मै  परून् 

नारी जीवन ज्योति बनेर रहने सौन्दर्य सृष्टि  बनि 
हुन्छन् त्याग-तप, दया ममता तिम्रा आकर्षण  भनि 
नारी शान्ति,दया ,क्षमा करुणा वात्सल्यकी सागर 
नारी प्रकाष्ठ चित्त   हृदयकी उत्प्रेरणा भै   जाँगर 

नारी लोचन हुन्  नविन जिवकी आभा नविनै हुँदा 
स्वकष्ट लुकाई  कलत्र भिजाई  आंचल पखाली रुँदा 
खाई नखाई  जिउ नै सुकाई वात्सल्य भाव जागोस्
नारीको महिमा ब्रम्हाले  गाएको  नेष्ट सर्वत्र  भागोस् 

मास्को,रुष महासंघ 

मिलन विन्दु

मिलन विन्दु – कुशलकुमार निरौला

अनमोल मेल थियो
उनको र मेरो  
पद चिन्हमा
सुंघेका पातहरु तुच्छ हुन्थे
निसहारा र निरीह भएर फगत
स्वर्णिम भूमिको 
आलिंगन गरिरहन्थे

उनको  धर्ती, मेरो आकाश
उनी डुलीरहन्थिन्
धर्तीका प्रत्येक शिखर शिखरमा
र म उडीरहन्थे 
आकाशका अग्ला-अग्ला  गर्तहरुमा
तर  मिलन विन्दु दुवैका  
एक थिए
आफ्नै देश ,आफ्नै धर्ती

म चाहान्थे, हामी दुबैको 
आपसी अनुसरण
अटूट रहोस् ,चली रहोस्
परन्तु मार्ग कति अलग थिए
एक मार्ग उनको थियो ,
अर्को मार्ग मेरो थियो
विचमा भासिएको धर्ती थियो

इच्छा एक थियो , आशा एक थियो
एकदिन त अवश्य
दुबैका पाईला मोडिएलान्
अनि हाम्रो मेल हुनेछ 
मेरो कवितामा
अनि हामी दुवै साथ साथै डुलौला
शब्दको त्यो शान्तिमा अनि
त्यो मिलन विन्दुमा-२

सूर्यको छैन जरुरत
जुनकिरीको उज्यालो 
पर्याप्त हुनेछ
फ्यूज भएका बल्बहरुबाट
उज्यालाको समारोह हुनेछ
तिरस्कृत हुनेहरुको एक
मिलन विन्दु हुनेछ

जडबाट तिरस्कृत भएका
वृक्षहरू यहाँ पुरस्कृत हुनेछन्
कालिदासको शाकुन्तल भित्रका
निवारो,खन्यु ,जम्मु आदि
 फलहरुको नाम फेरिने छ
अनि ति कल्प वृक्षका 
फलहरु हुनेछन्
हाम्रो यस अटूट मिलन विन्दुका  
आशिक सहयात्रीहरुले
त्यो कल्प फलको स्वाद चाख्नेछन्
अनि फूल मालाले पुरस्कृत हुनेछन्
यो हाम्रो मिलन विन्दुमा

उसले अपमान निरन्तर सहयो
जसले सत्यको साथ दिएथ्यो
पाखण्डका पूजारीहरुले
झूठको दोसल्ला ओढेर
चोरी,ठगी,लुटपाट,वलात्कारको
एक छत्र साम्राज्य सोच्नेहरु
तिमीहरुलाई खवरदार !
यो हाम्रो मिलन विन्दुमा

Saturday, October 26, 2013

नवरात्र रहस्य

नवरात्र रहस्य - आचार्य कुशलकुमार निरौला
              देवी भगवती उपासनाको पर्वलाई नवरात्र भनिन्छ । आद्याशक्तिका हरेक रुपको नवरात्रिका नौ दिनमा क्रमैसंगले अलग-अलग पूजा गर्ने गरिन्छ ,जसमा भगवती प्रसन्न भएर आशिर्वाद दिनुहुन्छ  “नवरात्र “ शब्दमा संख्या र कालको अद्भूत सम्मिश्रण पाईन्छ   "नवानां रात्रीणां  समाहार : नवरात्र " अर्थात्  नौ रात्रिहरुको सम्मिश्रणको नाम नवरात्र हो । यी नौ का संख्याहरू अखण्ड, अविकारी, अविनासी एकरस ब्रह्म नै हुन् । त्यसैले यदि हामी नौ अंकको दुनिअङ्क पढ्दै जान्छौ भने पुरै गुणन क्रममा नौ नै नौ अखण्ड ब्रह्म झैँ चम्किरहन्छन् । जस्तै :- 9 × 1= 99 × 2 =18 (1+8=9)9 × 3 = 27 (2+7=9), 9 × 4=36(3+6=9)9 × 5=45(4+5=9), 9 × 6 = 54 (5+4=9), 9 × 7=63 (6+3=9), 9 × 8=72 (7+2=9), 9 × 9 = 81(8+1=9), 9 × 10 = 90 (9+0=9) भन्नुको आशय नौ मात्र पूर्ण अंक हो । भगवान रामले नौमी तिथिमा नै अवतार लिनुले पनि यहिँ तथ्यलाई प्रतिपादित गरेको छ । भगवान रामले मर्यादामा रहेर जन जनलाई मर्यादाको पाठ सिकाउनु थियो त्यसकोलागि आफू पूर्णतम् पर ब्रहम भएको पुष्टि गर्नकालागि पनि नौमी तिथिलाई स्विकार्नु भयो ,जो की परब्रह्मको द्योतक अंक हो ।
               श्री मद्देविभागवतमा संवत् (वर्ष) मा चार नवरात्रहरुको स्पष्ट वर्णन पाईन्छ – (१) चैत्र नवरात्र (२) आषाढ नवरात्र (३) आश्विन नवरात्र (४) माघ नवरात्र । यिनीहरुमा प्रत्येक महिनाको शुक्ल प्रतिपदा देखि नवमी सम्म नवरात्र मानिन्छन् । कालान्तरमा दुई नवरात्र (चैत्र नवरात्र र आश्विन नवरात्र ) को अधिक प्रचलन हुनाले प्रकट नवरात्र भनिन थाले, भने अन्य दुई आषाढ र माघ नवरात्र चाँहि गुप्त नवरात्रका  रुपमा मात्र जानिन्छन् । यसका  अतिरिक्त नेपाली गते गणना अनुसार वर्षमा ३६५ दिनको वर्ष मानिए पनि वैदीक हिन्दु गणना अनुसार ३६० दिनको वर्ष मानिन्छ । ३६० लाई 9 ले भाग गर्दा ४० भागफल आउछ ,अब ० लाई छाडेर ४ लाई लिने हो भने पनि वर्षमा ४ नवरात्र पर्छन् भन्ने कुराको पुष्टि हुन्छ ।
                भगवती आद्या शक्तिको उपासनाका लागि 9 दिन सम्म लाई नवरात्र मानिनुको पछाडी पनि विशेष रहस्य लुकेको छ । समग्र 9 दिन महाशक्ति आराधनाका पर्वहरुहुन् । तीन हिन्दु देवीहरू – माता पार्वती ,माता लक्ष्मी र माता सरस्वतीको आराधनाका लागि निर्धारित दिनहुन् नवरात्र । सुरुका तीन दिन माता पार्वतीका ,विचका तीन दिन माता लक्ष्मीका र अन्त्यका तीन दिन माता सरस्वतीका स्वरुपको आराधनामा लगाउने शास्त्रको निर्देशन छ । त्यसैले पनि हामी दुर्गा शप्तसतीको पाठ गर्दा तीनै देवीलाई स्तुति गर्ने गर्छौ । पाठ पूर्वको कवचमा  महाकालीको  स्वरूप ,अर्गला स्तोत्रमा महा लक्ष्मीको स्वरूप र कीलकमा महा सरस्वतीको स्वरूप वर्णन गरिएको छ । त्यस्तै  पाठमा पनि तीन विश्राम, प्रथम चरित्र महा कालीलाई समर्पित ,द्वितीय विश्राम महा लक्ष्मीलाई समर्पित र तृतीय विश्राम महा सरस्वतीलाई समर्पितछन् , भने पाठ पश्चातका तीन रहस्य प्राधानिक ,विकृतिक र मूर्ति रहस्यले पनि क्रमसः तीनै महा देवीहरुलाई  प्रतिपादित गरेको छ । यसबाट पनि के कुरो  सिद्ध हुन्छ भने देवी आराधनाका क्रममा गरिने मार्कन्डेय पुराणबाट उद्धृत दुर्गा शप्तसतीको निर्देश अनुसार पाठको  पूर्वमा  ,पाठको मध्यमा र पाठको अन्त्यमा तीन पटक तीनै देवीलाई स्मरण गरियो । अत: 3 × 3 = 9 त्यसैले पनि नवरात्रको रहस्य साच्चिकै रहस्य कै छ ।
           मार्कन्डेय पुराणानुसार माता दुर्गाका नौ स्वरूप छन् –
(१)  शैलपुत्री () ब्रह्मचारिणी () चन्द्रघण्टा () कूष्माण्डा () स्कन्दमाता () कात्यायनी () कालरात्रि () महागौरी (9) सिद्धिदात्री  यी भगवतीका नौ रुपको आराधना नवरात्रमा नौ दिन सम्म क्रमैसंगले गर्ने गरिन्छ मार्कन्डेयोक्त दुर्गा शप्तसतीमा आद्या शक्ति भगवती स्वयं नवरात्रका बारेमा यसरी भन्नु हुन्छ –
शरत्काले महापूजा क्रियते या च वार्षिकी ।
तस्यां ममैतन्माहात्मयं श्रुत्वा भक्ति समन्वित : ।।
सर्वाबाधा विनिर्मुक्तो धन धान्य सुतान्वित: ।
मनुष्यो मत्प्रसादेन भविष्यति न संशय : ।।
        अर्थात् - शरद ऋतुमा जुन वार्षिक पूजा अर्थात् नवरात्र पूजा हुन्छ त्यसमा श्रद्धा र भक्तिका साथ मेरो यस देवी माहात्म्य (शप्तशती)को पाठ अथवा श्रवण गर्नुपर्दछ  । यसो गर्नाले नि:सन्देह मेरा  कृपा प्रसादले  मनुष्य सबै प्रकारका विघ्न-बाधा देखि मुक्त भएर धन-धान्य ,भूमि-पुत्रादि सम्पत्तिले सम्पन्न हुन्छ  । 
मास्को,रुष महासंघ

आश्विन शुक्ल चतुर्थी

Tuesday, July 16, 2013

क्षणिकाहरु

त्यो लम्बू खोला सुसाई रह्यो सुन्दिने कोहि छैन 
गुराँसे जंगल सुकेर गयो उन्दिने कोहि छैन ।
पूर्वको ज्योति पहिलो झुल्को त्यो मेरै सिरान
गाउले बन्धु विदेश लागि हुदैछन् किनार ।।

-----------      ***  -------------------

आँशुको रोदन झुकेर हेर्दा मुहार झस्किन्छ 
मिर्मिरे ज्योति आउला कि भनि सुदेह मस्किन्छ ।
तिनजुरे फेदी त्यो मेरो गाउ बसन्त डाकेको 
शान्तिको कपन आउलाकि भनि कालिका भाकेको ।।

-----------------   ***  ---------------------

भाई भाई फुटाउने नियतले गर्ला भलो के भनौ 
दुष्टा नै भएर वेशर्मी पनको काष्ठा परा नै जानौ ।
लक्ष्मी हौ घरकी भनेर जानेकी बाहान चढ्यौ कि उलूक 
वास नै उठायौ कसैको तिमीले , हे दैव ! कस्तो मुलुक ।।

 ----------------------  *** -------------------------

गान्धारीको ललाट कपटमा 
लुकेको यदि यथार्थ छ भने 
धृतराष्ट्रको पुत्र मोहमा 
हस्तिनापुरको भविष्य देखिन्न 
शस्त्र नलिने कृष्ण प्रणले 
पितामहको संकल्प मेटिन्न ।।

-----------  ** -------------

पूर्वी चतारा वराहा क्षेत्र 
धर्तीको ज्ञान सौकत बढाई 
अमृतका ति पावन विन्दु 
शप्तकोशिको तीर चढाई ।।

-----------  *** ----------

सपूत एकै 
विभेदी संस्कारमा 
कसको दोष ?
---------- ** ----------



चङ्गा

चङ्गा 

बाधिन्छ 
अड्किन्छ 
काटिन्छ 
थर्थराएर काम्छ 
फेरी पनि उड्छ 
चङ्गा ।।

हाईकु

हाईकु 

पानी पर्यो रे 
विराटनगरमा 
जलथल भो ।।
--- ** -----
शीतल छाँया 
लुकामारी वादल 
मेघ गर्जियो ।।
---- ** ----
विचल्ली भयो
क्रन्दन भो झुपडी
दैव वचाउ ।।
----- ** ------

हाईकु

रोकियो सास 
प्राण वायुको व्रण 
सीर्फ कर्तव्य ।।

-------- *** ------
जवानी चोला 
निराशा छ हातमा 
कर्मको खेल ।।

------ ** ------
अपूरो धन
सधैका भोका सबै
शिवको लीला ।।

------ ** -------
एउटै दु :ख
राजा रन्क फकीर
शिवको ध्यान ।।

------ ** -----------

हाईकु

रोकियो सास 
प्राण वायुको व्रण 
सीर्फ कर्तव्य ।।

-------- *** ------
जवानी चोला 
निराशा छ हातमा 
कर्मको खेल ।।

------ ** ------
अपूरो धन
सधैका भोका सबै
शिवको लीला ।।

------ ** -------
एउटै दु :ख
राजा रन्क फकीर
शिवको ध्यान ।।

------ ** -----------

मैले अज्ञानको माँग गरिन

मैले अज्ञानको माँग गरिन 
तर ज्ञानको माँग गर्दैछु 
दीन दुखीको करुण क्रन्दनमा 
आँशु पिएर मर्दै  वाच्दैछु 
आंग  ढाक्ने टालो नदेख्दा 
विधाताले तीनको  भाग्य नलेख्दा 
धनी गरीवि  विभेदी विखण्डन 
भोक- प्यासका कोर्रा खपेका 
आखीर तीनको
एक मुट्ठी साँसको मूल्य कसले बुझ्ला त?
मैले अज्ञानको माँग गरिन 
तर ज्ञानको माँग गर्दैछु ।।१ .

कसलाई के थाहा कति ठाउमा 
मैले आफ्नो अज्ञानताको परिचय दिए ?
समाजको लान्छन  सहेर नजाने कति ठाउ 
म  मरेर जिए
अज्ञानताको भयङ्कर भूमरीमा 
यतिसारो म कहिल्यै परिन 
अन्तर्निहित आत्म ज्योतिको 
यतिसारो कहिल्यै खोजि गरिन 
 मैले अज्ञानको माँग गरिन 
तर ज्ञानको माँग गर्दैछु ।।२. 

बालक यौवन र वृद्धावस्था 
केहि दशकमा विराम कहानी 
हजार बार जन्मनु ,हजार बार मर्नु  
अज्ञानताको कस्तो मनमानी ?
पूर्व कल्पित {पूर्व जन्मको }केही  ज्ञान शेष  रहेमा 
दुनियाँ सँग ज्ञानाचार गरौला 
 मैले अज्ञानको माँग गरिन 
तर ज्ञानको माँग गर्दैछु ।।३. 

कालो -कुरुप -कर्कश  डाह 
सबै अज्ञानका पर्याय हुन् 
जीवनको नीधि दाउमा राखेर 
कदम-कदममा भ्रष्टाचारको सामना हुनेछ 
झस्किएर रोकिन्छ ,
पथिकको त्यो पुनीत कदम 
सुदूर कुनामा प्रदीप्त आलोक 
त्यहिँ एकोहोरो साहारा हुनेछ 
 मैले अज्ञानको माँग गरिन 
तर ज्ञानको माँग गर्दैछु ।।४. 

पावन कर्तव्यका पुनीत पथलाई 
त्यहि ज्ञानले सिञ्चन गरौला 
कहिले काहिँ  वलिन्ध्र धारा अश्रु बगाई 
प्राणको अर्घ्य  चढाउने गरौला 
परन्तु  आफ्नो ध्येय यात्रामा 
कहिल्यै, काँही झुक्नु नपरोस् 
विद्वत ,ज्ञानीको सोझो सभामा 
पीठ फर्काई लुक्नु नपरोस् 
मैले अज्ञानको माँग गरिन 
तर ज्ञानको माँग गर्दैछु ।।५ .
                           ----आचार्य कुशलकुमार निरौला