Saturday, October 26, 2013

नवरात्र रहस्य

नवरात्र रहस्य - आचार्य कुशलकुमार निरौला
              देवी भगवती उपासनाको पर्वलाई नवरात्र भनिन्छ । आद्याशक्तिका हरेक रुपको नवरात्रिका नौ दिनमा क्रमैसंगले अलग-अलग पूजा गर्ने गरिन्छ ,जसमा भगवती प्रसन्न भएर आशिर्वाद दिनुहुन्छ  “नवरात्र “ शब्दमा संख्या र कालको अद्भूत सम्मिश्रण पाईन्छ   "नवानां रात्रीणां  समाहार : नवरात्र " अर्थात्  नौ रात्रिहरुको सम्मिश्रणको नाम नवरात्र हो । यी नौ का संख्याहरू अखण्ड, अविकारी, अविनासी एकरस ब्रह्म नै हुन् । त्यसैले यदि हामी नौ अंकको दुनिअङ्क पढ्दै जान्छौ भने पुरै गुणन क्रममा नौ नै नौ अखण्ड ब्रह्म झैँ चम्किरहन्छन् । जस्तै :- 9 × 1= 99 × 2 =18 (1+8=9)9 × 3 = 27 (2+7=9), 9 × 4=36(3+6=9)9 × 5=45(4+5=9), 9 × 6 = 54 (5+4=9), 9 × 7=63 (6+3=9), 9 × 8=72 (7+2=9), 9 × 9 = 81(8+1=9), 9 × 10 = 90 (9+0=9) भन्नुको आशय नौ मात्र पूर्ण अंक हो । भगवान रामले नौमी तिथिमा नै अवतार लिनुले पनि यहिँ तथ्यलाई प्रतिपादित गरेको छ । भगवान रामले मर्यादामा रहेर जन जनलाई मर्यादाको पाठ सिकाउनु थियो त्यसकोलागि आफू पूर्णतम् पर ब्रहम भएको पुष्टि गर्नकालागि पनि नौमी तिथिलाई स्विकार्नु भयो ,जो की परब्रह्मको द्योतक अंक हो ।
               श्री मद्देविभागवतमा संवत् (वर्ष) मा चार नवरात्रहरुको स्पष्ट वर्णन पाईन्छ – (१) चैत्र नवरात्र (२) आषाढ नवरात्र (३) आश्विन नवरात्र (४) माघ नवरात्र । यिनीहरुमा प्रत्येक महिनाको शुक्ल प्रतिपदा देखि नवमी सम्म नवरात्र मानिन्छन् । कालान्तरमा दुई नवरात्र (चैत्र नवरात्र र आश्विन नवरात्र ) को अधिक प्रचलन हुनाले प्रकट नवरात्र भनिन थाले, भने अन्य दुई आषाढ र माघ नवरात्र चाँहि गुप्त नवरात्रका  रुपमा मात्र जानिन्छन् । यसका  अतिरिक्त नेपाली गते गणना अनुसार वर्षमा ३६५ दिनको वर्ष मानिए पनि वैदीक हिन्दु गणना अनुसार ३६० दिनको वर्ष मानिन्छ । ३६० लाई 9 ले भाग गर्दा ४० भागफल आउछ ,अब ० लाई छाडेर ४ लाई लिने हो भने पनि वर्षमा ४ नवरात्र पर्छन् भन्ने कुराको पुष्टि हुन्छ ।
                भगवती आद्या शक्तिको उपासनाका लागि 9 दिन सम्म लाई नवरात्र मानिनुको पछाडी पनि विशेष रहस्य लुकेको छ । समग्र 9 दिन महाशक्ति आराधनाका पर्वहरुहुन् । तीन हिन्दु देवीहरू – माता पार्वती ,माता लक्ष्मी र माता सरस्वतीको आराधनाका लागि निर्धारित दिनहुन् नवरात्र । सुरुका तीन दिन माता पार्वतीका ,विचका तीन दिन माता लक्ष्मीका र अन्त्यका तीन दिन माता सरस्वतीका स्वरुपको आराधनामा लगाउने शास्त्रको निर्देशन छ । त्यसैले पनि हामी दुर्गा शप्तसतीको पाठ गर्दा तीनै देवीलाई स्तुति गर्ने गर्छौ । पाठ पूर्वको कवचमा  महाकालीको  स्वरूप ,अर्गला स्तोत्रमा महा लक्ष्मीको स्वरूप र कीलकमा महा सरस्वतीको स्वरूप वर्णन गरिएको छ । त्यस्तै  पाठमा पनि तीन विश्राम, प्रथम चरित्र महा कालीलाई समर्पित ,द्वितीय विश्राम महा लक्ष्मीलाई समर्पित र तृतीय विश्राम महा सरस्वतीलाई समर्पितछन् , भने पाठ पश्चातका तीन रहस्य प्राधानिक ,विकृतिक र मूर्ति रहस्यले पनि क्रमसः तीनै महा देवीहरुलाई  प्रतिपादित गरेको छ । यसबाट पनि के कुरो  सिद्ध हुन्छ भने देवी आराधनाका क्रममा गरिने मार्कन्डेय पुराणबाट उद्धृत दुर्गा शप्तसतीको निर्देश अनुसार पाठको  पूर्वमा  ,पाठको मध्यमा र पाठको अन्त्यमा तीन पटक तीनै देवीलाई स्मरण गरियो । अत: 3 × 3 = 9 त्यसैले पनि नवरात्रको रहस्य साच्चिकै रहस्य कै छ ।
           मार्कन्डेय पुराणानुसार माता दुर्गाका नौ स्वरूप छन् –
(१)  शैलपुत्री () ब्रह्मचारिणी () चन्द्रघण्टा () कूष्माण्डा () स्कन्दमाता () कात्यायनी () कालरात्रि () महागौरी (9) सिद्धिदात्री  यी भगवतीका नौ रुपको आराधना नवरात्रमा नौ दिन सम्म क्रमैसंगले गर्ने गरिन्छ मार्कन्डेयोक्त दुर्गा शप्तसतीमा आद्या शक्ति भगवती स्वयं नवरात्रका बारेमा यसरी भन्नु हुन्छ –
शरत्काले महापूजा क्रियते या च वार्षिकी ।
तस्यां ममैतन्माहात्मयं श्रुत्वा भक्ति समन्वित : ।।
सर्वाबाधा विनिर्मुक्तो धन धान्य सुतान्वित: ।
मनुष्यो मत्प्रसादेन भविष्यति न संशय : ।।
        अर्थात् - शरद ऋतुमा जुन वार्षिक पूजा अर्थात् नवरात्र पूजा हुन्छ त्यसमा श्रद्धा र भक्तिका साथ मेरो यस देवी माहात्म्य (शप्तशती)को पाठ अथवा श्रवण गर्नुपर्दछ  । यसो गर्नाले नि:सन्देह मेरा  कृपा प्रसादले  मनुष्य सबै प्रकारका विघ्न-बाधा देखि मुक्त भएर धन-धान्य ,भूमि-पुत्रादि सम्पत्तिले सम्पन्न हुन्छ  । 
मास्को,रुष महासंघ

आश्विन शुक्ल चतुर्थी

No comments:

Post a Comment