Monday, October 12, 2009

अन्धकारमा ज्योतिको आगमन हो दीपावली




नेपाली पर्व संस्कृतिको दीर्घ परम्परामा तिहार जसमा दीपावलीको आफ्नै ठूलो महत्व छ | पांच दिनको श्रृंखलाबद्ध यो पर्व एक आपसमा मिलेमतो र भाई चाराको दीर्घ सन्देश बोकेर आएको हुन्छ | कार्तिक महिनाको कृष्णपक्ष त्रयोदशी, चतुर्दशी तथा अमावस्या र शुक्लपक्षको प्रतिपदा तथा द्वितीया सम्म आयोजित यो पर्व केवल आगम-निगमको सम्मेलन मात्र नभएर जीवनका अनेकौ कर्मपक्ष इनै पांच दिनमा जागृत भएर उठ्छन् ।

कार्तिक महिनाको औशी लाई दीपावली भानिन्छ । यस दिन पुरै देशमा चारैतिर दीपमालाहरु प्रज्जवलित गरिन्छन् । नदीको किनारा देखि लिएर , देव मंदिर, बाटोघाटो त गल्लीमा समेत बलेका दीपकले औशीको घनघोर अंधकारलाई पराजित गरेर मनमोहक रंगमंचमय वातावरण बनाइदिन्छ । यस दिन ठूला साना सबै एक रुप भएर माटाका साना-साना दीपहरुलाई जलाउदै घरको दैलो देखिलिएर भण्डार भित्र समेत चौतर्फी उज्यालो बनाएर धनकी अधिष्ठात्री देवी महा लक्ष्मीलाई आमन्त्रण गरिन्छ | वास्तवमा भन्ने हो भने प्रकाशको जिजीविषाको परिचय दीपावलीको दिन मात्रै हुन्छ | यस दिनको दीप कोटी सूर्यको पकाशलाई पनि फीका पर्ने जस्तो देखिन्छ । दीपावलीका दिनको दीपको प्रकाश मनुष्यका भीत्र देखि बाहिर समेत प्रज्वोलित भएर उठ्छ । यस्तै क्षणमा कुल दीपको जन्म हुन्छ ,धरणी सनाथ हुन्छिन् । विद्वानहरु यस क्षणलाई 'राम नाम मणि दीप' भन्दछन् । जसानुसार प्रत्येक मनुष्यको भित्रि र बाहिरि दुवै अन्धकारलाई मिटाउना सकियोस् र हृदय भित्र एक नव ज्योति जागृत हुन सकोस् ।

दीपावली पंचकल्याणको पर्व हो । यसलाई पांच दिनका श्रृंखलाबद्ध कार्य द्वारा सम्पन्न गरिन्छ । यसको मुख्य पर्व हो औशी , परन्तु औशीको दुई दिन पहिले देखिनै दुई दिन पछाडी सम्म यो पर्व मनाईन्छ । दुई दिन पहिलेको पर्व हो धन त्रयोदशी {काग तिहार } र नरक चतुर्दशी {कुकुर तिहार} ।यसलाई नरक चतुर्दशी भन्नुको कारण यस दिन घरको सबै फोहोर कुडालाई बाहिर निकालेर एक स्थानमा फ्याकिन्छ र सायं हुने बेलामा कुडाको त्यो थुप्रोमा घरको सबै भन्दा ठूलो दीपलाई शुद्ध तोरीको तेल भरेर चार मुख बनाएर जलाइन्छ । ताकी कतैबाट पनि नरकासुरको आउने संभावना न रहोस् । धन त्रयोदशी {काग तिहार }बाट दीपावलीको शुरुवात हुन्छ । यस दिन क्रेता-विक्रेताहरुको उत्तेजक समागम हुन्छ ।

धन त्रयोदशी {काग तिहार }को बजारमा सून ,चादीका सामान हरु देखि लिएर स्टेनलेस स्टीलका सामानहरु को समेत धेरै व्यापार हुन्छ । दीपावलीका दिन पहिले देखिनै घरलाई झिली मिली बनाइन्छ,सय पत्री र मखमली फूलका माला गासेर ढोका देखि लिएर गाग्री लोटा सबैमा मालाले सजाइन्छ | सायं कालमा चारै तर्फ़ वत्ति बालेर शिष्टाचार पूर्वक भक्तहरु लक्ष्मी र गणेशको स्थापना गरेर लक्ष्मी पूजा गर्दछन् । देव्रे गणेश दाहिने लक्ष्मी । धन त्रयोदशी {काग तिहार }को दिनमा नै लक्ष्मीको आवाहन गरेर लक्ष्मी गणेशको पूजा गर्नाले स्थायी सुरक्षा तथा स्थायी लक्ष्मीको बास हुने धार्मिक मान्यता रही आएको छ ।

कार्तिक महिनाको कृष्णा चतुर्दशी 'यम' को दिन हुन्छ । यम र यमीको पूजाले दीपावलीलाई वैदिक परंपरासंग जोड़दिन्छ । पद्मपुराण, भविष्य पुराण, गरुड़ पुराण र स्कंद पुराण जस्ता अनेकौ पुराणमा दीपावली पर्वको राष्ट्रीय धारामाथि ठूला -ठूला कथाहरु लेखिएका छन् । दीपावलीको दिनमा ऋग्वेदिक आर्यहरुको सबैभन्दा प्रिय खेल द्यूतक्रीड़ा थियो । महाभारतको पुरा युद्ध नै द्यूत-क्रीड़ाको परिणाम मानिएको छ । त्यसैले तिहारको बेलामा हाट बजार देखि लिएर पाटि तथा चौतारा सबैतिर जूवा -तास खेलेर रमाउनेहरु पनि त्यतिकै देखिन्छन् | यी सबै कर्म निगमवादी हुन् , परन्तु दीपावलीलाई आगमवादिहरुले पनि कम महत्व दिएका छैनन् । दीपावलीको अर्ध रात्रिमा तंत्रसाधनाको पनि धेरै विधान गरिन्छ ।


यसरी दीपावलीको रात बिते पछि शुक्ल प्रतिपदा लाग्नासाथ अन्नकूटको सजावट प्रारंभ हुन्छ । अन्नकूट देवताको भोगोपरांत प्राय: सबै मंदिर, घरहरुमा दर्शन-पूजन र कथा श्रवण तथा दीपदानको विधान हुन्छ । अन्नकूटको भोगका लागि छप्पन प्रकारका व्यंजन बनाउने परम्परा छ । अन्नकूटको अर्को दिन भाई टीका पर्छ । यसलाई यम द्वितीया पनि भनिन्छ । पद्मपुराणमा भनिएको छ - कार्तिक शुक्ल द्वितीयाका दिन यम आफ्नी बहीनि यमुनाका घरमा जान्छन । बहीनि यमुना भाईको दीर्घ जीवनको कामना गर्दै यमलाई टीका लगाइदिन्थिन् यम आफ्नी बहीनिलाई यथाशक्ति दक्षिणा दिन्छन् । अनि यमुना भन्छिन् आजको दिन जो सुकैले आफ्नी दिदी बहीनिका हातबाट सप्त रंगले युक्त भएको टीका लगाउछन् उनीहरुलाई यमको दर्शन हुदैन भनेर । ऋग्वेदमा यम-यमी मंत्र द्रष्टा ऋषिका रूपमा वर्णित छन् । यसै दिन चित्रगुप्तका वंशज कलम र बहीको पूजा गर्दछन् । दुई दिवसीय विश्रामको पश्चात कलम फेरी आफ्नो काम शुरु गर्दछन् ।

यसरी दीपावली पंचगुच्छ पर्व आफ्नो स्वभाव, संस्कृति र परम्परागत तवरले बर्षको दोश्रो ठूलो चाडको रुपमा प्रचलित र प्रख्यात छ ।

श्रीमती करुणा पोख्रेल { निरौला }
साहित्य शाश्त्री
बिराटनगर -१६

No comments:

Post a Comment