Friday, January 13, 2012

कविता लेख्ने गर्छु म

बिहान देखि बेलुकी  सम्म 
दौडी रहन्छ जिन्दगी
कहिले यता  कहिले उता 
अन्जान छु म , कत्रो दूरी तय गर्नुछ 
गन्हाउने राजनीति .... भरिएका नालिको दूर्गंध 
सम्झि-सम्झि अन्जान बनेर 
मनतातो  चियाको एक घुट्की  तान्दै 
दिल-दिमागका भावनालाई लिएर  
यसो कहिले काही  कविता लेख्ने गर्छु म ।

शब्दको तारतम्य बाधे मैले 
कलमलाई दासत्व तुल्याए 
मुलुकको गन्हाउने  पनलाई झल्झली  सम्झदै 
आफ्ना वेदना आफैमा  सिमट्दै छाती ठूलो पारेर 
अब मैले जमर्को गरि सके  अनि 
दिल-दिमागका भावनालाई लिएर  
यसो कहिले काही  कविता लेख्ने गर्छु म ।

निर्दयी यो मन अब डराउदैन  कुनै घटनाले 
मेरो गाउको  भुसिया कुकुर मर्दा 
म कहिले खुब रोएथे
अब नरसंहार  संग पनि मेरो कुनै सरोकार छैन 
खुनको होलि हेर्नु मेरो बाध्यता  भइसक्यो
भुसुण्डी नादले  त्रसित हुने  यी कर्ण रंध्र 
अब संख नादमा परिणत  भइसके
कनि कुथी चल्ने  यो हातको कलम 
अब दासत्वमा  पुगी सक्यो 
त्यसैले  यसो कविता  लेख्ने गर्छु म  ।

छंद केहो , गण केहो ,मात्रा के हो 
स्वर व्यन्जना सबै भुली सके 
यस्तै चल्दो  रहेछ  यहा
कसले सुन्छ तिम्रा  देश प्रेमी भावना 
भित्रि कुण्ठा फुकी सके 
दासत्वबाट काम लिनै पर्ने हुँदा 
कहिले काही यसो कविता लेख्ने  गर्छु म ।

कालको  परिभाषा  म अब जान्दिन 
कहिले के हुने हो   थाहै छैन ,जानेर केहि फाइदै  छैन 
कोहि भेटिए हासौला ,मनका वेदना साटौला
नत्र भने आफ्नै बाटो बढौला 
पदचाप यदि आफ्ना  काही पाइएमा 
नि:शब्द नि हासौला , यतिकै केहि गाउला
षड्यन्त्र -राजनीति -विरोध -प्रदर्शन 
जीवनका यी सबै अंग बनिसके 
त्यसैले कहिले काही यसो कविता लेख्ने गर्छु म ।
  

No comments:

Post a Comment