नवरात्र रहस्य - आचार्य कुशलकुमार निरौला
देवी भगवती उपासनाको पर्वलाई
नवरात्र भनिन्छ । आद्याशक्तिका
हरेक रुपको नवरात्रिका नौ दिनमा क्रमैसंगले अलग-अलग पूजा गर्ने गरिन्छ ,जसमा भगवती प्रसन्न भएर आशिर्वाद दिनुहुन्छ । “नवरात्र “ शब्दमा संख्या र कालको अद्भूत सम्मिश्रण पाईन्छ । "नवानां रात्रीणां समाहार :
नवरात्र " अर्थात् नौ रात्रिहरुको सम्मिश्रणको
नाम नवरात्र हो । यी नौ का संख्याहरू अखण्ड, अविकारी, अविनासी एकरस ब्रह्म नै हुन्
। त्यसैले यदि हामी नौ अंकको दुनिअङ्क पढ्दै जान्छौ भने पुरै गुणन क्रममा नौ नै नौ
अखण्ड ब्रह्म झैँ चम्किरहन्छन् । जस्तै :- 9 × 1= 9, 9 × 2 =18 (1+8=9), 9 × 3 = 27 (2+7=9), 9 × 4=36(3+6=9), 9 × 5=45(4+5=9), 9 × 6 = 54 (5+4=9), 9 × 7=63 (6+3=9), 9 × 8=72 (7+2=9), 9 × 9 = 81(8+1=9), 9 × 10 = 90 (9+0=9)
भन्नुको आशय नौ मात्र पूर्ण अंक हो । भगवान रामले नौमी तिथिमा नै अवतार लिनुले पनि
यहिँ तथ्यलाई प्रतिपादित गरेको छ । भगवान रामले मर्यादामा रहेर जन जनलाई मर्यादाको
पाठ सिकाउनु थियो त्यसकोलागि आफू पूर्णतम् पर ब्रहम भएको पुष्टि गर्नकालागि पनि
नौमी तिथिलाई स्विकार्नु भयो ,जो की परब्रह्मको द्योतक अंक हो ।
श्री मद्देविभागवतमा संवत् (वर्ष)
मा चार नवरात्रहरुको स्पष्ट वर्णन पाईन्छ – (१) चैत्र नवरात्र (२) आषाढ नवरात्र
(३) आश्विन नवरात्र (४) माघ नवरात्र । यिनीहरुमा प्रत्येक महिनाको शुक्ल प्रतिपदा
देखि नवमी सम्म नवरात्र मानिन्छन् । कालान्तरमा दुई नवरात्र (चैत्र नवरात्र र
आश्विन नवरात्र ) को अधिक प्रचलन हुनाले प्रकट नवरात्र भनिन थाले, भने अन्य दुई
आषाढ र माघ नवरात्र चाँहि गुप्त नवरात्रका रुपमा मात्र जानिन्छन् । यसका अतिरिक्त नेपाली गते गणना अनुसार वर्षमा ३६५
दिनको वर्ष मानिए पनि वैदीक हिन्दु गणना अनुसार ३६० दिनको वर्ष मानिन्छ । ३६० लाई
9 ले भाग गर्दा ४० भागफल आउछ ,अब ० लाई छाडेर ४ लाई लिने हो भने पनि वर्षमा ४
नवरात्र पर्छन् भन्ने कुराको पुष्टि हुन्छ ।
भगवती आद्या शक्तिको उपासनाका
लागि 9 दिन सम्म लाई नवरात्र मानिनुको पछाडी पनि विशेष रहस्य लुकेको छ । समग्र 9
दिन महाशक्ति आराधनाका पर्वहरुहुन् । तीन हिन्दु देवीहरू – माता पार्वती ,माता
लक्ष्मी र माता सरस्वतीको आराधनाका लागि निर्धारित दिनहुन् नवरात्र । सुरुका तीन
दिन माता पार्वतीका ,विचका तीन दिन माता लक्ष्मीका र अन्त्यका तीन दिन माता
सरस्वतीका स्वरुपको आराधनामा लगाउने शास्त्रको निर्देशन छ । त्यसैले पनि हामी
दुर्गा शप्तसतीको पाठ गर्दा तीनै देवीलाई स्तुति गर्ने गर्छौ । पाठ पूर्वको कवचमा महाकालीको
स्वरूप ,अर्गला स्तोत्रमा महा लक्ष्मीको स्वरूप र कीलकमा महा सरस्वतीको
स्वरूप वर्णन गरिएको छ । त्यस्तै पाठमा
पनि तीन विश्राम, प्रथम चरित्र महा कालीलाई समर्पित ,द्वितीय विश्राम महा
लक्ष्मीलाई समर्पित र तृतीय विश्राम महा सरस्वतीलाई समर्पितछन् , भने पाठ पश्चातका
तीन रहस्य प्राधानिक ,विकृतिक र मूर्ति रहस्यले पनि क्रमसः तीनै महा
देवीहरुलाई प्रतिपादित गरेको छ । यसबाट
पनि के कुरो सिद्ध हुन्छ भने देवी
आराधनाका क्रममा गरिने मार्कन्डेय पुराणबाट उद्धृत दुर्गा शप्तसतीको निर्देश
अनुसार पाठको पूर्वमा ,पाठको मध्यमा र पाठको अन्त्यमा तीन पटक तीनै
देवीलाई स्मरण गरियो । अत: 3 × 3 = 9 त्यसैले पनि नवरात्रको रहस्य
साच्चिकै रहस्य कै छ ।
मार्कन्डेय पुराणानुसार माता दुर्गाका
नौ स्वरूप छन् –
(१) शैलपुत्री (२) ब्रह्मचारिणी (३) चन्द्रघण्टा (४) कूष्माण्डा (५) स्कन्दमाता (६) कात्यायनी (७) कालरात्रि (८) महागौरी (9) सिद्धिदात्री । यी भगवतीका नौ रुपको आराधना नवरात्रमा नौ दिन सम्म
क्रमैसंगले गर्ने गरिन्छ। मार्कन्डेयोक्त दुर्गा शप्तसतीमा आद्या शक्ति भगवती स्वयं
नवरात्रका बारेमा यसरी भन्नु हुन्छ –
शरत्काले महापूजा क्रियते या च वार्षिकी ।
तस्यां ममैतन्माहात्मयं श्रुत्वा भक्ति समन्वित : ।।
सर्वाबाधा विनिर्मुक्तो धन धान्य सुतान्वित: ।
मनुष्यो मत्प्रसादेन भविष्यति न संशय : ।।
अर्थात् - शरद ऋतुमा जुन वार्षिक पूजा
अर्थात् नवरात्र पूजा हुन्छ त्यसमा श्रद्धा र भक्तिका साथ मेरो यस देवी माहात्म्य
(शप्तशती)को पाठ अथवा श्रवण गर्नुपर्दछ । यसो
गर्नाले नि:सन्देह मेरा कृपा
प्रसादले मनुष्य सबै प्रकारका विघ्न-बाधा
देखि मुक्त भएर धन-धान्य ,भूमि-पुत्रादि सम्पत्तिले सम्पन्न हुन्छ ।
मास्को,रुष महासंघ
आश्विन शुक्ल चतुर्थी