Wednesday, January 19, 2011

ढोग्नुको अर्थ



दिदीबहिनीको चरणमा ढोग्ने चलन आदिकालदेखि चलेको हो जुन तीन-चारवटा पौराणिक कथामा आधारित छ। मनुस्मृतिमा यत्र नार्यस्तु पूज्यन्ते, रमन्ते तत्र देवता अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरू पनि रमाउँछन् भनिएको छ। सुभाषित रत्नभाण्डागारमा 'चतुणर्ामपि वणर्ानां दारारक्षतमा सदा' अर्थात् सबै वर्णका नारी जाति सधंै सुरक्षित छन् तथा 'जामयो यानि गेहानि शपन्त्य प्रतिपूजिता, तानि कृत्या हतानिव विनश्यन्ति समन्ततः। अर्थात् दिदीबहिनी, श्रीमती, छोरी र बुहारी जुन घरमा दुःखी भएर कचकच गरिरहन्छन् वा रुन्छन् त्यो घर मारण, उच्चाटन आदि वामतन्त्रद्वारा नासिएझैं धन, पशु, कुलसहित नष्ट भएर जान्छ भनिएको छ तसर्थ नारीलाई चरणमा ढोगेर खुसी पार्ने प्रयास गरिन्छ।

पौराणिक कथनअनुसार राजा अश्वपतिकी छोरी सावित्रीले आफ्ना श्रीमान् सत्यवान्लाई यमराजकहाँबाट फिर्ता ल्याएपछि उनले छोरी सावित्रीलाई चरणमा ढोगेका थिए। छोरीले यति ठूलो काम गर्न सक्छिन् भन्ने जानेर त्यही शक्तिका कारण उनीहरूलाई ढोग्न थालिएको हो। त्यस्तै हिमालय पर्वतकी छोरी पार्वतीको विलक्षण प्रतिभा देखेर पर्वतवासीहरूले छोरीलाई ढोग्ने चलन चलाएका हुन् भन्ने पनि छ। यसैगरी अर्को कथनअनुसार ब्रह्मा आफ्नी मानसपुत्री सरस्वतीप्रति आशक्त भए। त्यसपछि शिवद्वारा उनको एउटा शिर काटियो। यस्तो घटना घटेपछि भविष्यमा फेरि बाबुको छोरीप्रति कुदृष्टि नरहोस् भन्ने हेतुले छोरीको चरणमा ढोग्ने चलन चलेको हो। वास्तवमा छोरी घरकी शोभा हुन्। विवाहपछि अर्काको घर पठाइने भएकाले उनका लागि समर्पणको संस्कार आवश्यक हुन्छ। उनले विवाहपछि बालबालिकालाई जन्म दिनुपर्ने हुन्छ। विनम्रता एवं सहनशीलताको आदर्श प्रस्तुत नगरी उनले असल सन्तानलाई जन्म दिन सक्दिनन् तसर्थ अरूले विनम्रतापूर्वक चरणमा ढोगेर उनको सम्मान गर्ने र उनलाई खुसी पार्ने प्रयास गरिन्छ। यसो गर्दा उनले विनम्र बन्न सिक्छिन् भनेर चरणमा ढोग्ने चलन 
चलाइएको हो।


शिर भनेको ब्रह्मा स्थान हो। ज्ञान, विद्या, बुद्धि, विवेक एवं चेतनाको केन्द्र वा मुहान पनि शिर हो। दिदीबहिनी भनेका नारी शक्ति हुन्। जसलाई दुर्गा, लक्ष्मी, काली, कुमारी आदिका रूपमा पूजा गरिन्छ। यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता अर्थात् जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरू पनि रमाउँछन्। त्यसैले दिदीबहिनीहरूको चरणमा ढोगिन्छ। चरण भनेको साक्षात् गंगा, जमुना, सरस्वतीको निवास पनि हो। साक्षात् चरण पूजा लक्ष्मीनारायणको पूजा पनि हो। चरण पूजा गर्नु, शिर निहुराउनु, नमस्कार गर्नु, अभिवादन गर्नु शुभ मंगलका सूचक हुन्। जीवनमा शान्ति, प्रेम, सद्भाव एवं उन्नतिका लागि चरण स्पर्श गरिन्छ। शरीरमा एकप्रकारको चुम्बकीय तरंग निरन्तर चलायमान भैरहेको हुन्छ। उक्त तरंग सक्रिय बने मानिस क्रियाशील हुन्छ। मानिस निहुरिँदा शरीरका सबै अङ्ग गतिशील हुन्छन्। चरणमा शिर राख्न निहुरिँदा शरीरको सम्पूर्ण व्यायाम हुन्छ तथा मनका सम्पूर्ण अहंकार, क्रोध, दम्भ एवं लोभ नाश हुन्छन्। ढोगिनेको सकारात्मक ऊर्जा ढोग्ने मान्छेमा प्रवाहित हुन्छ, तरंगित हुन्छ। दाजुभाइमा यसले प्रेम, आत्मीयता एवं आत्मविश्वास बढाउँछ भने दिदीबहिनीमा सुख, शान्ति र समभावको विकास हुन्छ।

No comments:

Post a Comment